Skip to main content

Eratopatrika

📆 २०८३ कार्तिक १७ गते 🕔 ०४ : ३२

हाम्रो बारेमा

सम्पर्क

📆 २०८३ कार्तिक १७ गते 🕔 ०४ : ३२
 कांग्रेसको नेतृत्व सर्वसम्मत: धरानमा  राई र इटहरीमा  केसी 

 कांग्रेसको नेतृत्व सर्वसम्मत: धरानमा  राई र इटहरीमा  केसी 

✨ सारांश

  • नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत कोशी प्रदेशका धरान र इटहरी उपमहानगरपालिकामा पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
  • धरान उपमहानगर समितिको सभापतिमा नरेन्द्रकुमार राई (प्रवीण) सर्वसम्मत निर्वाचित भएका छन् र उनको नेतृत्वमा ३७ सदस्यीय नगर कार्यसमिति निर्विरोध चयन भएको छ।
  • नवनिर्वाचित सभापति राईले धरान कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको दाबी गर्दै आगामी निर्वाचनमा एकजुट भएर पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • इटहरी उपमहानगर समितिको सभापतिमा विद्यार्थी राजनीतिका पूर्वनेता विकास केसी शीर्ष तहको छलफल र आपसी समझदारीपछि सर्वसम्मत चयन भएका छन्।
  • इटहरीमा सभापतिबाहेकका बाँकी पदाधिकारी तथा सदस्यहरूको टुंगो पनि आपसी सहमति र सर्वसम्मत विधिबाटै लगाउने प्रयास अन्तिम चरणमा पुगेको छ।

धरान/ नेपाली कांग्रेसको जारी स्थानीय तह (गाउँ–नगर) अधिवेशनअन्तर्गत कोशी प्रदेशका दुई महत्वपूर्ण उपमहानगरपालिका—धरान र इटहरी—मा पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। गुटगत प्रतिस्पर्धा चर्किने अनुमानविपरीत लामो आन्तरिक छलफल र संवादपछि दुवै नगरमा सहमतिमै नेतृत्व टुंग्याइएको हो।

धरानमा ३७ सदस्यीय कार्यसमिति निर्विरोध

धरान उपमहानगर समितिको सभापतिमा नरेन्द्रकुमार राई (प्रवीण) सर्वसम्मत निर्वाचित भएका छन्। राईको नेतृत्वमा ३७ सदस्यीय नगर कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

धरानका सबै २० वटै वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन समेत यसअघि नै निर्विरोध टुंगिइसकेको थियो।

पदभार तथा शपथ ग्रहणपछि मन्तव्य राख्दै नवनिर्वाचित सभापति राईले धरान कांग्रेसभित्र वर्षौंदेखि जरा गाडेर बसेको गुटबन्दी अब पूर्ण रूपमा अन्त्य भएको दाबी गरे। वडादेखि नगरसम्मै सर्वसम्मत नेतृत्व स्थापितहुनुले पार्टीभित्र बलियो एकताको सन्देश दिएको उनको भनाइ थियो।

१५औं महाधिवेशनलाई लक्षित गर्दै उनले अब पार्टीभित्र कुनै पनि गुट–उपगुट बाँकी नरहेको प्रष्ट पारे।

विगतको स्थानीय तह निर्वाचनमा आन्तरिक घात–प्रतिघातकै कारण पार्टीका उम्मेदवार किशोर राईले पराजय भोग्नुपरेको स्मरण गर्दै उनले आगामी निर्वाचनमा यस्तो अवस्था दोहोरिन नदिने र एकजुट भएर पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

इटहरीमा दुई नेताबीचको समझदारीपछि विकास केसी सर्वसम्मत

इटहरी उपमहानगर समितिको सभापतिमा विद्यार्थी राजनीतिका पूर्वनेता विकास केसी सर्वसम्मत चयन भएका छन्। बुधबार मनोनयन दर्ताका क्रममा केसी र अर्का दाबेदार बालकृष्ण विष्टबीच प्रतिस्पर्धा हुने देखिए पनि बिहीबार बिहान शीर्ष तहमा भएको निरन्तर छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि उम्मेदवारी दर्ता गराएका कोविदजंग कार्कीले बुधबार नै सहमतिका लागि आफ्नो नाम फिर्ता लिएका थिए।

सभापतिमा निर्वाचित केसी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय उपसभापति हुन्। उनी यसअघिका दुईवटा नगर अधिवेशनमा वर्तमान नगरप्रमुख हेमकर्ण पौडेलसँग सभापति पदमै पराजित भएका थिए। लामो समयको राजनीतिक धैर्यता र निरन्तरतापछि नेतृत्वमा पुगेका केसी हाल इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत हुन्।

इटहरी नगर समितिका बाँकी पदाधिकारी तथा सदस्यहरूको टुंगो पनि आपसी सहमति र सर्वसम्मत विधिबाटै लगाउने गरी प्रयास अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.